बिर्तामोड । गत मंगलबार सप्तरीको महादेवा गाउँपालिका –१ चिम्टीमा भएको भिषण आगलागीले गाउँ नै स्वाहा भयो । स्थानीय शत्रुधन यादवको घरबाट शुरु भएको आगलागीले उनकोसहित एक सय १० परिवारको घर,  खाद्यान्न, लत्ताकपडा, पशुचौपायालगायत सबै सामग्री नष्ट पार्यो ।

तीव्र गतिमा हावा चलेको बेला भएको भीषण आगलागीले यादव, मुसहर र मुस्लिम समुदायको बसोबास रहेको चिम्टिका बासिन्दालाई मर्नु न बाँच्नुको अवस्थामा पुर्यायो । आफ्नो भएको सबै सम्पत्ति जलेर नष्ट भएपछि उनीहरु खेतमा पाल टाँगेर बस्न विवस छन् । उनीहरु कसैले राहत पो दिन्छ की भनेर टोलाएर वस्न वाध्य छन् ।

चिम्टीका आगलागीपीडितको जलेको घाउमा मल्हमपट्टि गर्न यतिबेला झापा बिर्तामोडका चार युवा लागीपरेका छन् । झापा बिर्तामोडका शरद जोशी , विष्णु आचार्य,  भिष्म घिमिरे , सौम्य शर्मा अहिले चिम्टीका आगलागीपीडितका लागी अस्थाई टहरा बनाउन व्यस्त छन् । 

 इङ्ल्याण्डको आरएसके सेल्टर नामक संस्था मार्फत उनीहरुले चिम्टीका आगलागीपीडितका लागी अस्थाई टहरा निर्माण गरिरहेको आरएसके सेल्टर नेपालका टीम लिडर शरद जोशीले बताए ।

आफूहरुले चिम्टीका आगलागीपीडितका लागी अस्थाई टहरा निर्माण गर्नुका साथै  सिफसी सेल्टर बालमैत्री तथा महिलामैत्री सामुदायिक भवन निर्माण गर्ने उनले बताए । आरएसके प्रविधीमार्फत उक्त सामग्री निर्माण गरिने उनले बताए ।आरएसके  प्रविधि बाट बनिने टहराहरू आपतकालीन अवस्थामा, छिटो बन्ने र फराकिलो तथा सुरक्षित हुने गरेको , आपतकालको बेला आरएसके  इमर्जेन्सी  १ घण्टामा तयार गर्न सकिने , ३–४ घण्टामा ४ जनाको परिवार सजिलै बस्न मिल्ने , गुणस्तरीय आरएसके   समुदाय प्रयोग, बालमैत्री कक्ष हरूको लागि  उपयुक्त हुने गरेको उनले बताए ।  इङ्ल्याण्डको आरएसके सेल्टरको संस्थापक सन हल्बेर्ट र आरएसके सेल्टरको नेपाल प्रमुख समिर नेपाल रहेको आरएसके सेल्टरको नेपालका टीम लिडर जोशीले बताए ।


आरएसके सेल्टरले यस अघि जाजरकोटको नलगाड र कुशे क्षेत्रका भूकम्पपीडितहरुका लागी  ४० वटा अस्थाई टहरा निर्माण गरिदिएको उनले बताए ।

आफूहरुको सामाजिक उत्तरदायित्व अन्तर्गत आगलागीपीडित, भूकम्पपीडितहरुलाई सहयोग गरेको बताउँदै उनले यस्तो कार्य गर्न पाउँदा आफूहरुलाई आनन्द आउने जनाए ।

आगलागीपीडित, भूकम्पपीडितहरुलाई परेको दुःखको सारथी बन्न पाउँदा आफू गौरवान्दित बनेको विष्णु आचार्यले बताए । आपत्विपद्मा परेकालाई सकेको सहयोग गर्नु एउटा सच्चा नेपालीको कर्तव्य समेत भएकाले एउटा नेपाली हुनुले आफूहरुले पनि कर्तव्य निभाएको उनको भनाई छ ।