बिर्तामोड। बालकल्याण आधारभूत विद्यालय अर्जुनधारा ६ को रजत महोत्सव समापन भएको छ।
 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश प्रसाईंको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख वलदेवसिंह गोम्देनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शिक्षक देउकुमारी थापाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।कार्यक्रममा विद्यार्थी र शिक्षकले स्वागत नृत्य प्रस्तुत गरेका थिए।
 कार्यक्रममा विद्यालयको प्राङ्गणमा नवनिर्मित  रजत महोत्सव स्तम्भ अनावरण गरिएको थियो। आफ्ना आमा बुबा पूर्णिमा–पञ्चबहादुर राईको स्मृतिमा छोराबुहारी धनकुमार–कौशिला राईले निर्माण गरेको रजत महोत्सव स्तम्भको प्रमुख अतिथि  अर्जुनधारा नगरपालिकाका नगर प्रमुख वलदेवसिंह गोम्देनले अनावरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डम्बर यादवले विद्यालयको गतिविधिसहित बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रममा रजत स्तम्भ निर्माणकर्ता , जग्गादाता, चन्दादाता, विद्यालय व्यवस्थापन समितिका पूर्व पदाधिकारीहरू , शिक्षक अभिभावक संघका पूर्व पदाधिकारीहरु, पूर्व प्रधानाध्यापक तथा शिक्षकहरू, अक्षयकोषदाता, भवन निर्माण दाता, सरस्वती मन्दिर निर्माण दाता, रजत महोत्सव सहयोगीदाता लगायत तीन सय जनालाई सम्मान गरिएको थियो।

विभिन्न अक्षयकोषबाट उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गरिएको कार्यक्रममा प्रमुख  अतिथी अर्जुनधारा नगरपालिकाका नगर प्रमुख वलदेवसिंह गोम्देन र अर्जुनधारा नगरपालिका शिक्षा शाखा अधिकृत  समिरा दाहाल पराजुलीलगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न जातीय नृत्य प्रस्तुत गरेको शिक्षक सञ्जु शिवाकोटीले जानकारी दिइन्।
कार्यक्रममा अर्जुनधारा–६का वडाध्यक्ष हरिशचन्द्र बाँस्तोला, अर्जुनधारा–७का वडाध्यक्ष गोविन्दप्रसाद खतिवडा, नगर कार्यपालिका सदस्यद्वय नरेन्द्रबहादुर राई र सन्तोष मेचे, नगर कार्यपालिका सदस्य एवम् सामाजिक विकास समितिका संयोजक कौशिलाल परियार, महारानीगञ्ज माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडा, सल्लाहकार समितिका संयोजक लोकनाथ गौतम लगायतको आतिथ्य रहेको थियो ।

   दुई दिनसम्म सञ्चालन भएको वार्षिकोत्सवको पहिलो दिन सोमबार विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको र मंगलवार  सांस्कृतिक कार्यक्रमसहित सम्मान कार्यक्रम  गरिएको थियो।

कार्यक्रमको सञ्चालन  शिक्षक भेषराज अधिकारीले गरेका थिए ।