बिर्तामोडझापाको बिर्तामोड ३ स्थित डोमालाल राजवंशी रंगशालामा जारी  ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लब पुगेको छ।
  बिर्तामोड -३ स्थित डोमालाल राजवंशी रंगशालामा मंगलवार लालिगुराँस एसोसिएसन पोखरा र त्रिभुवन आर्मी फुटबल क्लबबीच भएको खेलमा
टाइब्रेकरमा लालिगुराँस एसोसिएसन पोखरालाई ४–२ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी फुटबल क्लबले सेमिफाइनलको यात्रा तय गरेको हो ।   त्रिभुवन आर्मी  फुटबल क्लबका लागि नविन लामा, विक्रम तामाङ, जर्जप्रिन्स कार्की र विकेश कुथुले गोल गरेका थिए भने लालिगुराँस एसोसिएसन पोखराका टिकाराज गुरुङ र सुदिप गुरुङले सान्तवना गोल गरे ।
  खेलको प्लेयर अफ द म्याच विजेता टिम त्रिभुवन आर्मी फुटबल क्लबका गोलकिपर विकेश कुथु घोषित भएको र  उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए ।
 प्रतियोगितामा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडका देबी कार्कीले ३२ इञ्चको हिमस्टार एलइडी टिभी प्राप्त गरे ।

उनलाई बिर्तामोडको महेन्द्ररत्न स्टोरका सञ्चालक प्रशान्त भण्डारीले उक्त टिभी प्रदान गरे ।

प्रत्येक दिन टिकट काटेर खेल हेर्ने दर्शकमध्येका एकजनालाई बिर्तामोडको महेन्द्ररत्न स्टोरले  एक थान हिमस्टार एलइडी टेलिभिजन उपलब्ध गराउँदै आएको उनले बताए ।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर फुटबल हेर्ने एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले बताए।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।
बुधबारको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र भुटानको रोयल थिम्पु कलेजबीच हुने महासचिव बुद्धभुषण योञ्जनले बताए।

  झापा गोल्डकप सफल बनाउन महत्वपूर्ण सहयोग गर्ने  दातालाई सम्मान समेत गरिएको  कार्यक्रमको  सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।