बिर्तामोड। झापा गोल्डकपको आयोजनामा जारी ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को आज बिहीबार मछिन्द्र फुटबल क्लब र एन पेनाङ फुटबल क्लब मलेसियाबीच अन्तिम क्वार्टर फाइनल खेल हुँदैछ ।
बिर्तामोड –३ स्थित डोमालाल राजवंशी रंगशालामा आज बिहीबार दिउँसो ३ बजेदेखि मछिन्द्र फुटबल क्लब र एन पेनाङ फुटबल क्लब मलेसियाबीच अन्तिम क्वार्टर फाइनल खेल हुने आयोजक झापा गोल्डकपका महासचिव बुद्धभुषण योञ्जनले बताए।
झापाली प्रशिक्षक प्रवेश कटवालको प्रशिक्षण तथा सुजल श्रेष्ठको कप्तानीमा मछिन्द्र फुटबल क्लबबाट झापाली खेलाडीहरु देवेन्द्र तामाङ, पेमा तामाङ, प्रदिप बुढाथोकीसहित डोमालाल राजवंशी रंगशालामा एन पेनाङ फुटबल क्लब मलेसियाबाट नेपाली यु २३ का सदस्य लहान सुब्बा पतङवासहित, मदन स्याङतेन, योगेश लिम्बूले खेलमा रोमाञ्चकता प्रदान गर्दैछन् ।
प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान ३२ इञ्चको हिमस्टार एलइडी टेलिभिजन उपलब्ध गराउँदै आएको बिर्तामोडको महेन्द्ररत्न स्टोरका सञ्चालक प्रशान्त भण्डारीले बताए ।
झापा गोल्डकपमा दर्शकको उत्साह बढाउन प्रत्येक दिन टिकट काटेर खेल हेर्ने दर्शकमध्येका एकजनालाई बिर्तामोडको महेन्द्ररत्न स्टोरले एक थान हिमस्टार एलइडी टेलिभिजन उपलब्ध गराउँदै आएको उनले बताए ।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर फुटबल हेर्ने एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले बताए।
‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने , विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने उनको भनाई छ ।




















