बिर्तामोडझापा गोल्डकपको आयोजनामा जारी ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को सेमिफाइनलमा मछिन्द्र फुटबल क्लब   पुगेको छ।
  बिर्तामोड -३ स्थित डोमालाल राजवंशी रंगशालामा बिहीबार मछिन्द्र फुटबल क्लब र  मलेसियाको एन पेनाङ फुटबल क्लबबीच भएको क्वार्टर फाइनल खेलमा मछिन्द्र फुटबल क्लबले मलेसियाको एन पेनाङ फुटबल क्लबलाई १ का विरुद्ध २  गोल गर्दै  सेमिफाइनलमा प्रवेश गरेको हो ।    खेलको १९ औं मिनेटमा मछिन्द्र फुटबल क्लबका खेलाडी सनिश श्रेष्ठले पहिलो गोल गरेका थिए भने  ८० औँ मिनेटमा मछिन्द्र फुटबल क्लबका विदेशी खेलाडी जोनाथन जोरिल्लाले दोस्रो गोल गरेका थिए ।

 एन पेनाङ फुटबल क्लब मलेसियाका लागि एक मात्र गोल खेलको ६० औँ मिनेटमा जोन जिडेइनाले गरेका थिए।  खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्र फुटबल क्लबका जोनाथन जोरिल्ला घोषित भए र  उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएको झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए ।
  शुक्रबारको पहिलो सेमिफाइन खेल आयोजकको टिम झापा–११ एफसी र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच हुने झापा गोल्डकपका महासचिव बुद्धभुषण योञ्जनले बताए।
प्रतियोगितामा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट एक जनालाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले ३२ इञ्चको हिमस्टार एलइडी टिभी प्रदान गरिरहेको महेन्द्ररत्न स्टोर्सका सञ्चालक प्रशान्त भण्डारीले बताए।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर फुटबल हेर्ने एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले बताए।
  प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने र प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने उनले बताए।  त्यस्तै विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए ।
  झापा गोल्डकपलाई सफल बनाउन सहयोग गर्नेलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए ।