बिर्तामोड। निर्वाचन आचारसंहिता तथा मतदाता शिक्षाबारे सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला निर्वाचन कार्यालय झापा, नेपाल पत्रकार महासंघ झापा र संवाद समूहको आयोजनामा भएको कार्यक्रम नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको थियो।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले झापामा निर्वाचनको तयारी धमाधम भइरहेको बताए।
उनले झापामा यस निर्वाचनमा ७ लाख १३ हजार ५ सय ३७ मतदाताले २ सय ८५ मतदान केन्द्रको ८ सय १५ मतदान स्थलमा मतदान गर्ने बताए।
यसबर्ष ५० हजार २ सय २६ नयाॅ मतदाताले मतदान गर्ने बताए। आगामी फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिने बताउँदै उनले त्यसका लागी मतदाता शिक्षा स्वयम्सेवक खटाउने जानकारी दिए।
कार्यक्रममा निर्वाचन आचार संहिता अनुगमन अधिकृत सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईले निर्वाचन आचार संहिता अनुगमन प्रभाबकारी बनाउन आफूहरू लागीपरेको बताए।
उनले निर्वाचन आचार संहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गरिने बताए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले सञ्चारकर्मी र सञ्चारमाध्यमले पालना गर्नुपर्ने निर्वाचन आचार संहिताको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले निर्वाचनलाई भयरहीत वातावरणमा सम्पन्न गराउन आफूहरू लागीपरेको बताए।
उनले निर्वाचनलक्षित सुरक्षा व्यवस्थालाई कडाइ बनाउँदै एकीकृत सुरक्षा व्यवस्था लागू गरिएको बताउँदै तीनै बटा सुरक्षा संयन्त्रको संयुक्त सुरक्षा गस्ती गरिरहेको जनाए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुईंटेलले आगामी फागुन २१ गते हुने निर्वाचनका लागी झापामा जिम्मेवारीपूर्वक कार्य गरिरहेको बताए।
उनले निर्वाचनको व्यवस्थापकिय तयारी अन्तर्गत मतदानकेन्द्रको अनुगमन, मतपत्रलाई सुरक्षित राख्ने तयारी गरिएको बताए। अस्थायी मतदाता नामावली सङ्कलन समेत गरिरहेको बताउँदै उनले मतदाता शिक्षालाई प्रभावकारी बनाइने बताए।
निर्वाचनलाई स्वच्छ निष्पक्ष विश्वसनीय र भयरहीत बनाउन निर्वाचन आचारसंहिता पूर्णरूपमा कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरे।
नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन सचिव राजु पाठकले गरेका थिए।




















