बिर्तामोड। झापा गोल्डकपको आयोजनामा जारी ‘एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को फाइनलमा एपिएफ फुटबल क्लब पुगेको छ।
बिर्तामोड -३ स्थित डोमालाल राजवंशी रंगशालामा शुक्रवार आयोजक झापा–११ फुटबल क्लब र सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबबीच भएको सेमिफाइनल खेलमा एफिएफले आयोजक टिम झापा–११ फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
एपिएफका लागि सुमन श्रेष्ठ, दिपेश धिमाल, सन्तोष खत्री र समिराज थोकरले गोल गरेका थिए भने झापा ११ फुटबल क्लबका तर्फबाट भने रोमन भुजेल र रोहन कार्कीले मात्र गोल गरेका थिए ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका गोलकिपर एञ्जल श्रेष्ठ भएर उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएको झापा गोल्डकपका अध्यक्ष केदार गिरीले बताए । भोलि शनिबार अन्तिम सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र मछिन्द्र फुबटल क्लबबीच हुने झापा गोल्डकपका महासचिव बुद्धभुषण योञ्जनले बताए।
प्रतियोगितामा टिकट काटेर खेल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट एक जनालाई बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले ३२ इञ्चको हिमस्टार एलइडी टिभी प्रदान गरिरहेको महेन्द्ररत्न स्टोर्सका सञ्चालक प्रशान्त भण्डारीले बताए।
त्यस्तै, पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट लिएर फुटबल हेर्ने एकजना दर्शकलाई यामाहाको स्कुटर प्रदान गरिने झापा गोल्डकपका वरिष्ठ उपाध्यक्ष गजेन्द्रवहादुर पौडेलले बताए।
प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने र प्रतियोगिताको उत्कृष्ट खेलाडीले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गर्ने उनले बताए। त्यस्तै विधागततर्फ उत्कृष्ट कोच, हाई स्कोरर र उत्कृष्ट गोलकिपरले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाउने उनले बताए ।
यसैबीच पत्रकार रमेश समदर्शी राईलाई झापा गोल्डकप प्रतियोगिता सफल बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ। त्यस्तै विभिन्न संघसंस्था र व्यक्तिहरूलाई सम्मान गरिएको कार्यक्रमको सञ्चालन सञ्चारकर्मी केशव भट्टराईले गरेका थिए।




















