बिर्तामोड । तपाईं आफ्नो जन्मोत्सव कसरी मनाउनु हुन्छ ? ठूला तारे होटलमा साथीभाईहरुलाई भव्य पार्टी दिएर जन्मोत्सव मनाउनु हुन्छ होला । तर, झापा बिर्तामोडका युवा व्यवसायी शत्रुघनप्रसाद गुप्ताले आफ्नो जन्मोत्सव फरक तरिकाले मनाएका छन् ।

जन्मोत्सवमा  फजुल खर्च गरिने कार्यलाई निरुत्साहित गर्दै गुप्ताले आफ्नो जन्मोत्सव अर्जुनधारा–५ डाँडागाउँमा रहेको जनजाती कल्याण आश्रमद्वारा सञ्चालित फाल्गुनन्द छात्रावासका विद्यार्थीसँग मनाएका हुन् ।

उनले त्यहाँ रहेका विद्यार्थीलाई खाद्यान्न,लत्ताकपडा, मिठाई लगायतका सामग्री प्रदान गरेर आफ्नो जन्मोत्सव मनाएका थिए । 

 फाल्गुनन्द छात्रावासका प्रमुख दिपक तामाङको अध्यक्षता तथा अर्जुनधारा नगरपालिकाकी कार्यपालिका सदस्य तथा वडा नं. ५ की वडासदस्य चन्द्रकुमारी तामाङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्वागत जन्मोत्सव मनाउने शत्रुघनप्रसाद गुप्ताले गरेका थिए ।

उनले आफूले विगतका वर्षहरुदेखि नै सामाजिक कार्य गरेर जन्मोत्सव  मनाउँदै आएको बताउँदै यसरी जन्मोत्सव मनाउँदा आफूलाई आनन्द आउने जनाए ।

उनले भने ः ठूला तारे होटलमा साथीभाईहरुलाई भव्य पार्टी दिएर जन्मोत्सव मनाउँदा क्षणिक आनन्द आउँछ होला तर सामाजिक कार्य गरेर जन्मोत्सव मनाउँदा यसले जीवनभर खुशी दिन्छ । 

कार्यक्रममा प्रमुख अतिथि वडासदस्य चन्द्रकुमारी तामाङ, ओमशान्ती टोल विकास संस्थाका सचिव गोकुल रिजाल, हिन्दू स्वयम्सेवक संघका कोशी प्रदेश कार्यवाह ईश्वर पोखरेललगायतले जन्मोत्सवका नाममा फजुल खर्च गर्ने परिपाटीले समाजमा विकृति वढेको समयमा सामाजिक कार्य गरेर आफ्नो जन्मोत्सव मनाएर युवा व्यवसायी गुप्ताले समाजमा उदाहरणीय कार्य गरेको बताए ।

कार्यक्रममा फाल्गुनन्द छात्रावासका विद्यार्थीले जन्मोत्सव मनाउने शत्रुघनप्रसाद गुप्तालाई संस्कृतको श्लोकद्वारा जन्मोत्सवको शुभकामना दिएका थिए भने कार्यक्रममा सहभागी वडासदस्य चन्द्रकुमारी तामाङ, ओमशान्ती टोल विकास संस्थाका सचिव गोकुल रिजाल, हिन्दू स्वयम्सेवक संघका कोशी प्रदेश कार्यवाह ईश्वर पोखरेल,जनकल्याण प्रतिष्ठानकी सदस्य आशा पोखरेल,हिन्दू स्वयम्सेवक संघका विस्तारक पुस्कर घिमिरे, विक्रमकुमार मण्डल, विर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलालगायतले गुप्तालाई जन्मोत्सवको शुभकामना दिएका थिए ।

कार्यक्रममा प्रेरणा गुप्ताले आफ्नो बुबाले सामाजिक कार्य गरेर जन्मोत्सव मनाएकोमा आफूलाई औधी खुशी लागेको बताइन् । 

बिर्तामोडको प्रसाईं सुपर मार्केटमा रहेको न्यू गुप्ता क्लोथ सेन्टरका सञ्चालक रहेका गुप्ता बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य,  छठ समाज सेवा समिति बिर्तामोडका सल्लाहकार,  रौनियार सेवा समितिका कोषाध्यक्ष, सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका कोषाध्यक्ष, चेम्वर अफ कमर्श झापाका कोषाध्यक्ष,  जनजाति कल्याण आश्रमद्वारा सञ्चालित फाल्गुनन्द छात्राबासका सचिव , ओमशान्ती टोल विकास संस्थाका सदस्य ,हिन्दू स्वयंसेवक संघको प्रचार प्रमुखलगायत विभिन्न संघ–संस्थामा आबद्ध रहेका छन् ।

महागुरु फाल्गुनन्द जयन्तीको अवसर पारेर किराँत धर्मगुरु मुहिङगुम अङसीमाङ आत्मानन्द लिङदेन एवं मुहिङगुम अङसीमाङ गुरुआमा  सावा पवित्र हाङमा लिङ्देनको प्रमुख आथित्यता तथा  समाजसेवी  देवाकिशन मून्दडाको विशेष आतिथ्यमा उद्घाटन भएको फाल्गुनन्द छात्रावासमा झापा, मोरङ,पाँचथर, ताप्लेजुङ, तेह्थुम, संखुवासभा, चितवन, धादिङलगायतका क्षेत्रका आदिवासी जनजाती समुदायका गरिव तथा जेहेन्दार विद्यार्थीहरु बस्दै आएको छात्राबासका प्रमुख दिपक तामाङले बताए ।

आर्थिक अवस्था कमजोर भएर शिक्षाबाट वञ्चित रहेका उनीहरुलाई जनजाति कल्याण आश्रमले झापाका विभिन्न सामुदायिक विद्यालयहरुमा निःशुल्क अध्यापन गराउँदै आइरहेको तामाङले बताए ।

कार्यक्रमको सञ्चालन बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।